
विराटनगर । भिजिट भिसाका नाममा अवैध रकम संकलन गरेको आरोपमा गृहमन्त्रालयका एक कर्मचारीमाथि भइरहेको अनुसन्धानमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ।


काङ्ग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले गृहमन्त्रीमाथि अनुसन्धान नभएको अवस्थामा उनलाई राजीनामा माग्नु उचित नहुने धारणा सार्वजनिक गरेका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “कर्मचारीमाथिको छानबिनले मात्र मन्त्रीको जिम्मेवारीको प्रश्न उठ्दैन। अनुसन्धान पर्खनुपर्ने र निष्कर्षपछि मात्र निर्णयमा पुग्नुपर्ने हो।”

तर, काङ्ग्रेसका अर्का नेता डा. शेखर कोइरालाको अभिव्यक्ति भने त्यसको ठीक विपरीत देखिएको छ। उनले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा पदबाट राजीनामा दिएर अनुसन्धानलाई सहज बनाउनु पर्ने धारणा राखेका छन्। “पदीय मर्यादा र नैतिक जवाफदेहिता कायम राख्न मन्त्री स्वयंले छानबिन सम्पन्न नभएसम्म पदबाट अलगिनु उपयुक्त हुन्छ,” कोइरालाले स्पष्ट पारे।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल गृहमन्त्रालयका एक कर्मचारीमाथि अनुसन्धान अगाडि बढाइरहेको छ। भिजिट भिसामा वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूसँग अवैध रकम लिइएको आशंकामा छानबिन भइरहेको हो ।









