
सुन्दरहरैंचा । उद्योगपति भोलेश्वर दुलालले मुलुकको समृद्धि र विकासमा निजी क्षेत्रको निर्णायक भूमिका रहने उल्लेख गर्दै आत्मनिर्भरता र सक्रिय सहभागिताको आह्वान गरेका छन्।


शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै दुलालले भने, “देश निर्माणको अपेक्षा अरूबाट गर्नु व्यर्थ छ। हामी निजी क्षेत्रका प्रतिनिधिहरूले नै आफ्नो ठाउँ आफै बनाउनु पर्ने समय आएको छ।”

“हिजोका गल्तीहरूबाट सिक्दै अबको व्यापारिक यात्रा नयाँ सोच, नवीन कार्यशैली र दीर्घकालीन दृष्टिकोणका साथ अगाडि बढ्नुपर्छ,” दुलालले भने। “अहिले बजारमा आर्थिक गतिविधि क्रमशः विस्तार हुँदै गएको छ। यस्तो अवस्थामा व्यवसायीहरू अझ जिम्मेवार, दूरदर्शी र सचेत हुन आवश्यक छ।”
उनले व्यवसायिक क्षेत्रले भोग्दै आएको बैंकसम्बन्धी समस्यालाई गम्भीरतापूर्वक उठाउँदै, त्यसबारे सरोकारवाला निकायहरूसँग संस्थागत रूपमा आवाज बुलन्द गर्न संघ र संगठनहरूलाई आग्रह गरे।









