
सुन्दरहरैंचा । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा अब कुनै पनि बहानामा बन्द नहुने सुनिश्चित गर्न सुन्दरहरैंचाका प्रमुख राजनीतिक दलहरू सहमत भएका छन्। विश्वविद्यालयलाई बन्द निषेधित क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाउँदै, आज सर्वदलीय प्रतिबद्धता सहितको १० बुँदे सुझाव तथा ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजुकुमार थपलियालाई बुझाइएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा प्रतिनिधिहरूले विश्वविद्यालयको दीर्घकालीन सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सुझावहरू प्रस्तुत गरे। प्रमुख सुझावहरूमा एम.बि.बि.एस. कार्यक्रम सञ्चालनको तयारी, गोठगाउँ परिसरको प्रभावकारी प्रयोग, र विश्वविद्यालयको ८०५ विघा भोगाधिकार प्राप्त जमिनको समुचित विकास लगायतका विषयहरू समावेश छन्।

ज्ञापनपत्रमा विशेष रूपमा विश्वविद्यालयको आफ्नै मेडिकल कलेज स्थापनासँगै एम.बि.बि.एस. कार्यक्रम सञ्चालन गर्न स्पष्ट कार्ययोजना माग गरिएको छ। साथै, केन्द्रीय कार्यालय स्थायी रूपमा गोठगाउँमा स्थानान्तरण गर्न, भौतिक संरचनाहरूको मर्मत तथा सौन्दर्यीकरण गर्न, शैक्षिक वातावरण प्रवद्र्धन गर्न तथा विश्वविद्यालय परिसरलाई शान्ति क्षेत्र घोषणा गर्न समेत आग्रह गरिएको छ।
सर्वदलीय सुझावपत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, जसपा लगायतका राजनीतिक दलका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।
कार्यक्रमको संयोजन नेपाली कांग्रेस सुन्दरहरैंचाका सभापति भक्तिप्रसाद सिटौलाले गरेका थिए भने सञ्चालन सचिव होमनाथ पोखरेलले गरेका थिए । ज्ञापनपत्र बुझाएपछि स्वतन्त्र नागरिक समाजका साथै विभिन्न दलका प्रतिनिधिहरूले विश्वविद्यालयको सुदृढीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए।
ज्ञापनपत्र ग्रहण गर्दै उपकुलपति प्रा. डा. बिजुकुमार थपलियाले आफूले हालसम्म गरेका कार्यहरूबारे जानकारी गराउँदै, सुझावहरू कार्यान्वयन गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताएका छन ।