कोशी प्रदेश मुख्य समाचार

प्रहरी तालिम केन्द्रले शान्ति सुरक्षाका साथै विकास निर्माण र आर्थिक क्षेत्रमा सहयोग पुग्ने

सुन्दरहरैंचा । नेपाल प्रहरी कोशी प्रदेश प्रहरी तालिम केन्द्रको भवन २०८० साल जेष्ठ महिनामा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा शिलान्यास गरियो । प्रहरीको तालिम केन्द्र सुन्दरहरैंचामा रहने भएपछि यहाँको शान्ति सुरक्षालाई मात्र हेरिएको छैन यहाँ हुने हरेक विकासका घटनाक्रमलाई समेत हेरिन थालिएको छ । तालिम केन्द्र नै यहाँ भएपछि यहाँका नागरिकहरु शान्ति सुरक्षा मजबुत हुने कुरामा विश्वस्त छन् ।

सुन्दरहरैंचा ९ की बासिन्दा जनचेतना सामुदायिक वनकी कोषाध्यक्ष हिमा पोखरेलले दैनिक जंगल क्षेत्रमा नागरिकमा त्रास सिर्जना उत्पन्न भएको छ । दैनिक यस क्षेत्रमा हात्तीको त्रास छ तर जंगलमा प्रहरीको बासस्थान भएपछी यहाँका नागरिकहरु केही हदसम्म सुरक्षित भएको महसुस भएको बताउँछिन् । उनले घटना स्थलमा प्रहरीको छिटो उपस्थितिले जनतासँग प्रहरी छ भन्ने महसुस भएको बताएकी छिन् ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र सुन्दरहरैंचामा आउँदा स्थानीय तह सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल थिए । उनको निरन्तर पहलमा नेपाल प्रहरी कोशी प्रदेशको तालिम केन्द्र रानीबाट सुन्दरहरैंचा स्थित पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रमा आएको हो ।  उनले प्रहरी केन्द्रको तालिम केन्द्रले यस क्षेत्रको शान्ति सुरक्षा मात्र मजबुत नहुने भन्दै यहाँ हुने हरेक विकास निर्माण र आर्थिक क्षेत्रमा समेत मद्धत पुग्ने बताए । उनले तालिम केन्द्रको भवन शिलान्यास भइसकेको हुँदा अन्य विषयमा समेत सबैले सहयोग गरिदिन आग्रह गरे । उनले प्रहरी तालिम केन्द्रसँगै एउटा रंगशाला समेत नागरिकको लागि खुला रहने गरि तत्कालीन अवस्थामा सम्झौता गरिएको बताए ।

बुधबार उक्त कोशी प्रदेश तालिम केन्द्र सुन्दरहरैंचामा सरस्वती मन्दिरको शिलान्यास भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले उक्त मन्दिर निर्माणको बुधबार शिलान्यास गरेका हुन् । तालिम केन्द्रसँगै प्रहरीले खाली जग्गाको सदुपयोग गर्दै क्रिकेट रंगशालाको निर्माण गर्ने भएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीका अनुसार क्रिकेट रंगशालासँगै खाली जग्गालाई समयानुसार विभिन्न नागरिकको हितमा सदुपयोग गर्दै यहाँको शान्ति सुरक्षामा प्रहरी सधैँ लागि रहने बताए ।

उनले प्रहरीले मात्र सबै कार्य गर्न नसक्ने हुँदा नागरिक स्तरबाटै सहयोग पाए प्रहरी सधँै यस क्षेत्रको विकासमा एक साथ अघि बढ्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *