समाचार सुदुरपश्चिम प्रदेश

दुर्गमका विपन्न बिरामीको नि:शुल्क उपचार गर्न डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगे सांसद शर्मा

काठमाडौं । दुर्गम क्षेत्रका विपन्न बिरामीको नि:शुल्क उपचार गर्न प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा विशेषज्ञ डाक्टरको टोली लिएर सुदूरपश्चिम पुगेका छन् । ग्रामीण क्षेत्रका विपन्न बिरामीलाई नि:शुल्क उपचार गराउँन डा.शर्मा १८ जना डाक्टरको टोली लिएर अछाम पुगेका हुन् ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत रहेका सांसद शर्माले देशका विभिन्न स्थानमा वर्षौ अघिदेखि नि:शुल्क शिविर सञ्चालन गराउँदै आएका छन् । अहिले सुदूरपश्चिमको अछाम र कर्णालीको कालिकोटका विपन्न बिरामीहरुको नि:शुल्क उपचारका लागि केएमसीका विशेषज्ञ डाक्टरहरुको टोली लिएर सांसद डा.शर्मा त्यहाँ पुगेका हुन् ।

सुगम क्षेत्रमा भन्दा दुर्गममा उपचार नपाएर विरामीहरु रोगको पीडा सहेर बस्न बाध्य हुने भएकाले उनीहरुलाई नि:शुल्क उपचार गरेर सहयोग गर्न सुदूरपश्चिम गएको सांसद शर्माले बताए । ‘सुगममा बस्ने र पैसा हुनेलाई त उपचार पाउनु सामान्य कुरा हो, तर दूरदराजका विपन्न नागरिकहरुले पैसा अभावमा उपचार नपाएर पीडा झेल्न बाध्य छन्,’ सांसद शर्मा भन्छन्, ‘यस्तै दुर्गम क्षेत्रका बिपन्न नागरिकहरुलाई नि:शुल्क उपचार गराउँन सुदूरपश्चिम आएका छौं, सम्भव हुनेलाई यहीँ उपचार गर्छौ, यहाँ उपचार हुन नसक्नेलाई केएमसी र नोबेलमा लगेर आवश्यकता अनुसार ओपनहार्ट सर्जरी, किड्नी ट्रान्सप्लान्टदेखि सबै अप्रेशन र उपचार नि:शुल्क गर्छौ ।’

सांसद शर्मासँगै उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मा पनि सोही टोलीमा अछाम पुगेकी छन् । डाक्टरहरुको सो टोलीले अछामको तीन स्थान र कालिकोटको एक स्थानमा शिविरमार्फत विरामीको उपचार गर्दैछ । गत आइतवार अछाम पुगेको सो टोली विपन्न विरामीको उपचारका लागि एक साता अछाम र कालिकोटमा खटिने डा.शर्माले बताए । सो टोलीले शिविरमा विरामीको स्वास्थ्य परीक्षणदेखि सामान्य शल्यक्रियासमेत गर्नेछ । विरामीलाई भिडियो एक्सरे, मुटुको जाँच इको र इसीजी, ब्लड टेष्ट लगायत सेवा पनि शिविरमै प्रदान गरिदैछ ।

सो टोलीले अछामको पञ्चदेवल विनायक नगरपालिकासँग सहकार्य गरेर आइतवार र सोमबार विनायकमा शिविर सञ्चालन गरेको छ । दुई दिन सञ्चालित शिविरमा ३ हजार ७ सय ६२ विरामीको नि:शुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । जसमध्ये आँखा, बालरोग, मुटुरोग, स्त्रीरोग, हड्डी र नाक कान घाँटी सम्बन्धी समस्या भएका १८२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको छ ।

त्यस्तै, अछामको मंगलसेन नगरपालिकासँग सहकार्य गरेर मंगलबार अछाम बहुमुखी क्याम्पसमा गरिएको शिविरमा २ हजार १ सय ३१ विरामीले नि:शुल्क उपचार सेवा पाएका छन् । त्यहाँ उपचार सम्भव नभएका ६५ विरामीलाई अस्पताल रेफर गरिएको छ । काठमाडौंबाट विशेषज्ञ डाक्टर आएको थाहा पाएपछि शिविरहरुमा विरामीको भीड लाग्ने गरेको छ ।

अब, अछामको कमलवजार नगरपालिका र कालिकोटको मान्मामा नि:शुल्क शिविर गरिदैछ । शिविरमा उपचार सम्भव नभएका बिरामीहरुलाई केएमसी र नोबेलमा आवश्यकता अनुसार सबै किसिमको अप्रेशनसहितको नि:शुल्क उपचार गरिनेछ । त्यहाँबाट बिरामीहरुलाई अस्पतालसम्म ल्याउँन सम्बन्धित पालिकाहरुले सहयोग गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *