
विराटनगर । नेपाली काङ्ग्रेसको १५ औ महाधिवेशन नजिकिँदै गर्दा काङ्ग्रेसले क्रियाशील सदस्य नवीकरणलाई तिव्रता दिँदै आएको छ । २०८३ सम्म काङ्ग्रेसले आफ्नो १५ औ महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने छ ।


महाधिवेशन नजिकिँदै गर्दा केन्द्र, प्रदेश र जिल्लामा आफू सभापति हुन काङ्ग्रेस नेताहरूले केन्द्रीय नेताहरू सँग लबिङ सम्म गर्न थालिसकेका छन् । ०८४ मा स्थानीय तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थितिमा काङ्ग्रेसले आफ्नो महाधिवेशन गर्न लागिरहेको छ ।

विभिन्न सभा समारोहमा समयमा नै काङ्ग्रेसको महाधिवेशन हुने महामन्त्री गगन थापाले बताउँदै आएका छन् । १४ औं महाधिवेशनमा दुई धार देखिएको काङ्ग्रेसमा यस पटक तीन धार देखिने सम्भावना रहेको छ । अघिल्लो महाधिवेशनमा केन्द्रको सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवा र संस्थापन इतर समूहबाट शेखर कोइराला सभापतिको उम्मेद्वार रहेका थिए ।
देउवा अब १५ औँ महाधिवेशनमा उम्मेद्वार बन्न नपाउने काङ्ग्रेस विधानमा उल्लेख भए सँगै उनको उत्तराधिकारी को बन्ने भन्ने अहिले सम्म अन्यौलता छ । यता संस्थापन इतर समूहबाट शेखर कोइराला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । कोइराला समूहमा नै रहेका गगन थापाले समेत आफू उम्मेद्बारी बन्ने सङ्केत गरी सकेका छन् । कोइराला र थापा दुवै आफू उम्मेद्बारी हो भन्दै सार्वजनिक कार्यक्रममा समेत उपस्थिति भइसकेका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्ने हो भने संस्थापन पक्ष शेरबहादुर देउवाको उम्मेद्बारी गगन थापा हुने आङ्कलन गगन पक्षका नेताहरूले गर्दै आएका छन् । तर देउवाको उम्मेद्बारी को हुने निश्चित भएको छैन । महामन्त्री समेत रहेका गगन थापा अहिले देउवा नजिक रहेका छन् । उनले विभिन्न कार्यक्रममा शेखरको आलोचना समेत गर्दै आएका छन् । तर देउवाले आफ्नो उम्मेद्बारी को हो भनेर खुलेर भन्न सकेका छैनन् ।









