
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको सनसाइन एकेडेमी विना दर्ता सञ्चालनमा आएको पाइएको हो । सुरेशकुमार खवास सञ्चालक रहेको उक्त विधालय विना दर्ता सञ्चालनमा आएको हो । खवास एनप्याब्सन सुन्दरहरैंचाका नगरअध्यक्ष समेत हुन ।


खवासका अनुसार उक्त विधालय ग्रामथान गाउँपालिकाबाट सुन्दरहरैंचा नगरपालिकामा ल्याइएको हो । तर स्थान सार्दा समेत दुवै स्थानिय तहको अनुमती चाहिन्छ । खवासका अनुसार उक्त विधालय विगत ३/४ वर्ष भन्दा बढी देखि सुन्दरहरैंचाको वडा नं ११ स्थित बेलेपुरमा सञ्चालन हुँदै आएको छ । उक्त विधालयले सुन्दरहरैंचा नगरपालिकामा राजश्व तिर्दै आएता पनि नगरमा भने दर्ता बिनै राजश्व तिरेर सञ्चालनमा आउदै गरेको पाइएको हो ।

कम्पनीको अभिलेख अनुसार सनसाइन एकेडेमी (प्रकाश मेमोरियल इङ्लिस आवाशीय विद्यालय प्रा.लि.) को संचालक गंगाप्रसाद खतिवडा र सुरेशकुमार खवास छन् ।बोर्डिङलाई वि.सं. २०७४ सालमा जिल्ला शिक्षा कार्यालय मोरङको स्वीकृतिमा उर्लाबारीबाट मोरङकै ग्रामथान गाउँपालिका – ५ मा स्थानान्तरण गरियो। २०७४ माघ ९ गते लिइएको पान दर्ता प्रमाणपत्रमा पनि स्कुलको ठेगाना ग्रामथान गाउँपालिका नै उल्लेख छ ।
कम्पनी रजिस्टार कार्यालयबाट २०७५ सालमा ठेगाना परिवर्तन गराई फेरि ग्रामथान गाउँपालिका कार्यालयबाट सुन्दरहरैंचा -११ मा स्थानान्तरणका लागि सिफारिस लिइएको थियो । तर, सुन्दरहरैँचा नगरपालिकाबाट आवश्यक प्रक्रिया पुरा नगरी प्रकाश मेमोरियल स्कुल संचालन हुँदै आएको छ।
त्यसो त सुन्दरहरैंचा नगरपालिकामा नगर शिक्षा शाखाको अनुमती विना सञ्चालन हुँदै आएका दर्जनौ विधालय रहेको पाइएको छ । नगर सग पहुँच राख्ने तथा राजनितिक पहुँचकै आधारमा अनुमती विना विधालय सञ्चालन गर्दा हजारौ विधार्थीहरुको भविष्य संकटमा पर्ने देखिन्छ ।
शिक्षा शाखाले ४३ वटा सस्थागत विधालयहरुको सुची सार्वजनिक गरेको छ । तर नगर क्षेत्र भित्र शिक्षा शाखाले निकालेको सुचना भन्दा बढी विधालयहरु सञ्चालनमा रहेका छन । नगरले निकालेकै सुचनालाई आधार मान्ने हो भने पनि अनुमति विना कक्षा थप गर्ने विधालयको संख्या दर्जनौ रहेको छ ।
एनप्याब्सन सुन्दरहरैंचा नगर सचिव खगेन्द्र धिमालले एबप्याब्सन नगर अध्यक्ष खवासको विधालयको विषय सस्थागत बैठकमा उठाउने बताए । सचिव धिमालले अन्य ठाउँबाट नामसारी गरि ल्याएको तर यहाँ दर्ता छ छैन एबप्याब्सनलाई थाहा नभएको बताए ।
यदि नगरमा अनुमती लिएको छैन भने उनको अध्यक्ष पद के हुन्छ भन्ने प्रश्नमा सचिव धिमालले आगामी बैठकबाट यो कुरा अगाडि बढाउने धिमालले बताए । स्रोतका अनुसार खवासलाई एनप्याब्सनको अध्यक्षबाट हटाउने तयारी भइरहेको छ । एनप्याब्सनमा आबद्ध केही व्यक्तिले पटक पटक विधालय दर्ता गर्न आग्रह गर्दा पनि राजनितिक पावर सेयरिङ गर्छु भन्दै अध्यक्ष हिडेपछी एनप्याब्सन अध्यक्षबाट नै हटाउन लागिएको एनप्याब्सन स्रोतले बताएको छ ।
शिक्षा सम्बन्धी ऐन कानुनलाई ठाडो रुपमा मिचेर नगरको विभिन्न स्थानहरुमा निजी विद्यालयहरु संचालन गरी अबैध शैक्षिक व्यापार फस्टाउदै गएको हो । विगतदेखि नै विना अनुमति निजि विद्यालयहरु सञ्चालनमा आइरहँदा सम्वन्धित निकायवाट कुनै कारवाही भने भएको छैन ।









