
इटहरी । असार १९ गतेदेखि कोशी र मेचीका क्रसर व्यवसायी आन्दोलित हुने भएका छन । क्रसर उद्योगको नवीकरण सहज रुपमा गर्ने वातावरण तयार गर्न सरकारले अनाकानी गरेको जनाउँदै व्यवसायी आन्दोलित हुने भएका हुन् ।


सो सम्बन्धी जानकारी दिन इटहरीमा पत्रकार सम्मेलन गर्दै व्यवसायीले कर, दस्तुर, शुल्क लगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको र उद्योगहरु नवीकरण समेत नभएकाले असार १८ गतेसम्म समस्याको समाधान गर्न अल्टिमेटम दिएको बताए ।

असार १८ गते भित्र पनि नवीकरण गर्न मातहतका निकायहरुलाई लिखित निर्देशन नआएको खण्डमा असार १९ गतेदेखि क्रसरबाट उत्पादित वस्तु बिक्री तथा उत्पादन कार्य ठप्प गरी अनिश्चितकालको लागि बन्द गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद्को गत माघ ११ गतेको निर्णयबाट हाल सञ्चालनमा रहेका तर मापदण्ड लगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्क लगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रुपमा सञ्चालन गर्न दिने निर्णय भएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार सम्बन्धित निकायले क्रसर उद्योग नवीकरण नगरेको भन्दै व्यवसायी रुष्ट भएका हुन् । कोशी प्रदेशमा तीन दर्जन क्रसर उद्योग सञ्चालनमा रहेको बताइएको छ ।









