राजनीति

ओली र देउवालाई पनि जेल हाल्ने षड्यन्त्र हुँदैछ: सांसद शर्मा (भिडियोसहित)

सुन्दरहरैँचा । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि सरकारले जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका छन् । ज्येष्ठ नागरिक समाजले मोरङको विराटचोकमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले प्रचण्ड नेतृत्वको सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा ओली र देउवालाई जेल हाल्ने षड्यन्त्र गरिरहेको बताएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार राजनीतिक पूर्वाग्रहका आधारमा अघि बढेको भन्दै सांसद शर्माले अहिले ओलीलाई जेल हाल्ने षड्यन्त्र बनिरहेको बताए । पहिले ओलीलाई जेलमा कोच्ने अनि देउवालाई पनि जेल हाल्ने गरी यो सरकारले षड्यन्त्र रचिरहेको उनले दावी गरे ।

अरुकै इसारामा सरकार चलिरहेको आशंका व्यक्त गर्दै सांसद शर्माले अहिले ओली र देउवालाई जेल हाल्न षड्यन्त्र गराउनेले २०८४ अघि प्रचण्डलाई पनि जेल हाल्ने जिकिर गरे । ‘अहिलेको प्रचण्ड नेतृत्वको सरकारले अब ढिलो चाँडो ओली बा लाई जेल ठोक्दैछ, राजनीतिक पूर्वाग्रहका आधारमा पहिले ओली बा लाई जेल ठोक्ने र त्यसपछि शेरबहादुर देउवालाई जेल ठोक्ने योजना बन्दैछ,’ सांसद शर्माले भने, ‘लेखेर राख्नुस् अहिले यो जसले जेल ठोकाउँदैछ, २०८४ अघि प्रचण्डलाई पनि जेल ठोक्ने प्लानमा छ, हेक्का रहोस् प्रचण्ड जीलाई ।’

भ्रष्टाचारको विरुद्धमा बोल्दा आफूलाई गिरफ्तार गरिएको भन्दै सांसद शर्माले राज्यसत्ताले गरेका गलत कामका विरुद्ध बोल्नेहरूको आवाज दबाउँछ सरकार लागिपरिरहेको आरोप लगाए । भ्रष्टाचार विरोधी अभियानमा कोही पनि पक्ष विपक्ष नहुने तर्क गर्दै उनले आफूले उठाएको आवाजलाई पक्ष विपक्ष सबैले साथ दिएको प्रति खुशी व्यक्त गरे । राज्यसत्ताको दुरुपयोग गरेर देश लुट्ने छुट कसैलाई पनि नभएको भन्दै उनले गलत कामका विरुद्ध सँधै बोलिरहने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *