
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ डाँडागाउँमा बस्तीको बीचमा सञ्चालनमा रहेको अलकत्रा प्लान्टका कारण जनस्वास्थ्य र वातावरणमा असर परेको भन्दै स्थानीय बासिन्दाले प्लान्ट तत्काल स्थानान्तरण वा बन्द गर्न माग गरेका छन्।


डाँडागाउँ टोल समितिको बैठकले प्लान्टबाट निस्कने धुलो, धुवाँ तथा फोहोरका कारण स्थानीयको स्वास्थ्यमा असर पर्न थालेको भन्दै कम्पनी, सुन्दरहरैंचा नगरपालिका र वडा कार्यालयको ध्यानाकर्षण गराएको जनाएको छ। पटक–पटक जानकारी गराउँदा समेत समस्या समाधानमा सुनुवाइ नभएको भन्दै स्थानीयले अब जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाउने तयारी गरेका छन्।

डाँडागाउँको पश्चिमतर्फ एसियन हाइवे निर्माण गरिरहेको COVEC–CREGE–TUNDI JV को अलकत्रा प्लान्ट बस्तीबाट करिब एक किलोमिटरभित्र रहेको स्थानीयको भनाइ छ। बस्ती नजिकै प्लान्ट राखिएको विषयमा प्रश्न गर्दा कम्पनीका प्रमुख सस्मित पोखरेलले वडा कार्यालयको सिफारिस तथा नगरपालिकाबाट आवश्यक प्रक्रिया पूरा गरेर स्थापना गरिएको बताएका थिए।
तर स्थानीयले बस्तीभित्र प्लान्ट स्थापना गर्न सिफारिस गर्ने वडा कार्यालयको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। प्लान्ट कानुनी मापदण्डअनुसार सञ्चालनमा छ वा छैन भन्ने विषयमा स्थानीय तहले तत्काल अनुगमन गर्नुपर्ने उनीहरूको माग छ। कुनै व्यक्ति वा संस्थाको हितका लागि नागरिकको स्वास्थ्य तथा स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारमाथि असर पार्न नहुने स्थानीयको भनाइ छ।
स्थानीयले १५ दिनभित्र माग सम्बोधन नभए प्लान्ट बन्द गराउनेलगायत थप विरोधका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन्। कम्पनी र स्थानीय तहले टोलवासीको समस्या समाधानका लागि तत्काल पहल र समन्वय नगरे आन्दोलनका कार्यक्रम अघि बढाउने निर्णय भएको स्थानीय बासिन्दा सानु कार्की बस्नेतले जानकारी दिइन्।









