
भद्रपुर । झापाको चारआलीमा आगामी असोज ९ र १० गते हुने नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधिको सहभागिता रहने भएकाले होटल, रेस्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पर्ने विश्वास गरिएकोे आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।


चारआली जेसिजका अध्यक्ष सञ्जय निरौलाले सम्मेलनमार्फत कोशी प्रदेशको मौलिक संस्कृति, कला, स्थानीय उत्पादन र पर्यटनलाई सहभागीमाझ प्रवद्र्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “देशका विभिन्न स्थानबाट आउने प्रतिनिधिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात र अन्य व्यवसायलाई प्रत्यक्ष लाभ पुग्नेछ । साथै झापाको पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि सम्मेलनले सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौँ ।”

स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता, लगानी तथा एआईमा आधारित डिजिटल मार्केटिङ तालिम, थिम सेमिनार र अन्तर–शाखा वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिने कार्यक्रम संयोजक तथा नेपाल जेसीजका पूर्वअध्यक्ष उत्तम पकुवालले बताउनुभयो । उहाँका अनुसार सम्मेलनले युवा नेतृत्वसँगै उद्यमशीलता र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने काम गर्नेछ ।









