
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका लागि सरकारले द्रुत गतिमा काम गरिरहेको भन्दै होटल व्यवसायीहरूलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज होटल सङ्घ नेपाल (हान)का पदाधिकारीहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै राज्यलाई आफ्नो बलियो साझेदारका रूपमा लिएर सहकार्य गर्न व्यवसायीहरूलाई अनुरोध गरे।


प्रधानमन्त्री शाहले पर्यटन क्षेत्रको दिगो विकासका लागि होटल व्यवसायीहरूले कानुनको पूर्ण पालना गर्दै आफ्नो व्यावसायिक जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए। उनले विशेषगरी साना तथा मझौला होटलहरूलाई पर्यटन विभागमा दर्ता गराई करको दायरामा ल्याउन आग्रह गर्दै यसले पर्यटन उद्योगलाई थप व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।

छलफलका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक–निजी साझेदारी (पीपीपी) ढाँचामार्फत पर्यटन क्षेत्रको विकासका लागि गर्न सकिने सहकार्यका सम्भावनाबारे अध्ययन गर्न पनि सुझाव दिए। सरकारले पर्यटन पूर्वाधार विकास र निजी क्षेत्रसँगको सहकार्यलाई निरन्तर प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पर्यटन उद्योगको विस्तारका लागि सरकार र निजी क्षेत्रबीचको समन्वयलाई अझ सुदृढ बनाइने बताए।









