
विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सञ्चालन गराएको एम्बुलेन्स क्याम्पवाट गत साउन महिनामा मोरङको क्षेत्र नं.३ का १५ हजार भन्दा बढी विरामी लाभान्वित भएका छन् । क्षेत्र नं.३ मा पर्ने बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीमा सञ्चालित एम्बुलेन्स क्याम्पबाट साउन महिना भरमा १५ हजार २ सय ५० विरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।


सो अवधिमा२ हजार ८ सय ७२ जनाको रक्त परीक्षण,२ हजार ३ सय ८१ जनाको भिडियो एक्सरे र १ हजार ४ सय ७९ जनाको मुटुको जाँच इसीजी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ८ सय १३ जनाको दाँत खोलिएको छ । यता, एम्बुलेन्स क्याम्पमा उपचार सम्भव नभएका ७ हजार ४ सय ३२ विरामीलाई नोबेल अस्पतालमा ल्याएर उपचार गरिएको छ । जसमध्ये ३ सय १३ जनाको शल्यक्रिया गरिएको छ । विरामीहरुलाई अस्पताल ल्याउँने र पुर्र्याउँने व्यवस्था पनि नोबेल अस्पतालले नै मिलाएको छ ।

यस अघि गत असार महिनामा एम्बुलेन्स क्याम्पबाट १४ हजार ५ सय ६३ बिरामीले निःशुल्क उपचार पाएका थिए । गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले केही महिनायता स्वास्थ्य शिविरसँगै एम्बुलेन्स क्याम्प पनि सञ्चालन थालेको हो । बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेता समेत हुन् । गत प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई निःशुल्क उपचारको व्यवस्था मिलाउँन ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराएका हुन् ।
शनिवार बाहेक हरेक दिन दुई टोली डाक्टरहरु एम्बुलेन्स लिएर टोलटोलमा पुगी त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी त्यहीं गर्ने गरिएको छ । त्यहाँ उपचार सम्भव नभएका विरामीलाई नोबेल अस्पताल ल्याई उपचार गरेर घर पुर्याउँने व्यवस्थापनि डा.शर्माले नै मिलाइदिएका छन् । एम्बुलेन्स क्याम्पबाट विपन्न विरामीहरु बढी लाभान्वित भएका छन् ।









